राणा शासनको अन्त्य सँगै जनताहरुमा शिक्षा प्रतिको जागरण अधिराज्य भरि नै वढ्दै गइरहेको बेला यस लेगुवा गा.वि.स. मा पनि शिक्षा लिने दिने कार्य गर्नका लागि यहाँका अगुवा व्यक्तित्वहरु सूर्यबहादुर मिश्र, झुमलाल गिरी, रत्नमान गिरी, षडानन्द भण्डारी लगायत कृष्णप्रसाद मिश्र, शेरबहादुर कुँवरको अगुवाइमा २०१३ साल तिर हिउँदको गाइ गोठ जस्तै सेउले छाप्रो वनाई वडा नं. ७ का अम्वरबहादुर कुँवरलाई शिक्षक नियुक्त गरी पठन पाठन सुरु गरेको पाइन्छ । विद्यार्थीहरुले घरबाट नै लेख्ने सिलापाटी र बस्ने परालको पिरा लिएर आउनु पर्थ्याे, पढाई सञ्चालन गर्दा १०, १२ जना विद्यार्थी थिए, ठूलो वर्णमाला विताव पढाई हुने गर्दथ्यो । कक्षा चढाउने चलन थिएन ।
स्याउले छाप्रोमा पढाइ भई रहदा शिक्षकलाई खुराकी वापत १ माना चामल र तलव वापत रु ३ नगद विद्यार्थीहरुले जम्मा गर्नुपर्ने व्यवस्था थियो । करिब २ वर्ष सम्म विभिन्न ठाउँमा गाई गोठ सारे जस्तै छाप्रो सार्दै पठन पाठन सञ्चालन हुँदै गर्दा अभिभाबकहरुको श्रमदान र चन्दाबाट २०१५ साल तिर १ कोठे खरको छानो भएको भवन निर्माण गरी पठन पाठन सञ्चालन गरेको देखिन्छ । त्यस ताका पहिलो विद्यालय सञ्चालक समिति गठन गर्दा सभापति सूर्यबहादुर मिश्र र सेक्रेटरी षडानन्द भण्डारी छनोट भई ७ सदस्यीय समिति वनेको थियो । उँहाहरु नै संस्थापक वि.स. समितिका पदाधिकारीहरु हुनुहुन्छ । सबै विद्यार्थीहरुबाट नगद र चामल संकलन गर्न नसक्दा तलब दिन नसक्ने अवस्था सृजना भएकोले २०१५ सालबाट नै अम्बर ब. कुँवरले शिक्षक पदबाट राजिनामा दिएको पाइन्छ । यसरी १५ सालमा विद्यालय भवनको निर्माण कार्य सम्पन्न भएपछि औपचारकि रुपमा विद्यालय सञ्चालन गर्दा विद्यालयको न्वारन गर्न बाँकी रहेकोले नजिकमा रहेको पवित्र अरुण नदीका नामबाट अरुणोदय प्राइमरी स्कुल भनी नामाकरण गरियो । विद्यालय सञ्चालनले २०१५ साल माघ ११ गते औपचारीकता पाएकोले यही माघ ११ गतेलाई विद्यालयको वार्षिक उत्सव एवम् अभिभावक दिवशका रुपमा मनाइदै आएको अवश्था छ । तत्कालिन जिल्ला शिक्षा निरिक्षकबाट २०१७ साल माघ ११ गते अरुणोदय प्राइमरी स्कुल छथर सालघारीका रुपमा विद्यालयलाई स्थायी स्वीकृति प्रदान गर्यो ।
उद्देश्य एउटा भए पनि अरुणोदयको अर्थ सूर्य उदय हुन्छ । जे भए पनि उक्त नामबाट नै श्री अम्बरबहादुर कुँवर प्र.अ. भई २०१९ सालसम्म क्रमश २,३ कक्षा हुँदै पठन पाठन गरियो । २०१९ मा अम्बरबहादुर कुँवरले प्र.अ.बाट राजिनामा दिए पछि श्री चुम्बकबहादुर कार्कीलाई प्र.अ. बनाई पठन पाठन गर्दै जाँदा वीच–वीचमा अरु पनि प्र.अ. हरु हुँदै २०२३ सालदेखि श्री मानबहादुर मिश्र प्र.अ. भई पठन पाठन कार्य गर्दा २०२९ सालसम्म कक्षा १–५ सम्म पठन पाठन भई प्राइमरी स्कुलको रुपमा यो विद्यालय सञ्चालन हुँदै गएकोमा ‘राष्ट्रिय शिक्षा पद्धति २०२८’ ले यस विद्यालयलाई कक्षा ३ मा घटुवा गर्यो । कक्षा ३ सम्म २०३५ सालसम्म रह्यो ।
‘राष्ट्रिय शिक्षा पद्धति २०२८’ अनुसार घटुवा भएको विद्यालयबाट विकट क्षेत्रमा बसेका वालवालिकाहरुको भविष्यमा कुठाराघात भएको विश्लेषण गरी २०३६ सालदेखी यस विद्यालयलाई स्तरवृद्धि गर्ने क्रममा कक्षा ४ सञ्चालन गरी २०४९ सालसम्म कक्षा ७ सम्मको पढाई सञ्चालन गरियो । देशभरी मा. वि. खोल्न पाउने सरकारी नीति अनुरुप यस विद्यालयले पनि आफूलाई माध्यमिक विद्यालय वनाउन रुची राखेकोले शैक्षिक सत्र २०५० सालदेखी कक्षा ८ सञ्चालन भयो । तर दुर्भाग्य विभिन्न प्राविधिक कठिनाईले गर्दा प्रवेशिका परीक्षाको लागि पहिलो समूहका विद्यार्थीहरुलाई यस विद्यालयले अरुको पोल्टामा हालिदिन बाध्य हुनु पर्यो । तर पनि साहसका साथ र हतोत्साही नवनी अगाडी बढ्दै जाँदा २०५१ सालमा यस विद्यालयले नीजी श्रोतमा कक्षा ९ अध्यापन गराउने अनुमति सरकारबाट प्राप्त गर्यो र २०५२ सालमा कक्षा १० सञ्चालन गर्ने अनुमति पाएर २०५३ सालको SLC परीक्षामा हाम्रा विद्यार्थीहरुले आफ्नै विद्यालयबाट परीक्षा दिने सौभाग्य प्राप्त गरे । यसरी सरकारी तर्फबाट उपेक्षित भए पनि यस विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीको सदासयता र सहयोगले मा. वि. स्थापना देखि हालसम्ममा यस विद्यालयले प्रवेशिका परीक्षामा ५०० भन्दा बढि विद्यार्थी उत्तीर्ण गराउन सफल भई सकेको छ ।
कठिन चुनौतिहरुको वीचमा नै अशल सम्भावनाहरु हुने गर्दछन् भन्ने तथ्यलाई विद्यालयको स्थापना देखि वर्तमान सम्मको ऐतिहाँसिक दस्तावेजलाई नियाल्दा प्रष्ट हुन्छ । भौगोलिक विकटता, पर्याप्त शिक्षक दरवन्दीको अभाव, अभिभावकमा व्याप्त चेतनाको कमी एवम् गरिबी तथा विद्यालयको कमजोर आर्थिक तथा भौतिक अवस्थाको वावजुत पनि विद्यालय प्रगति पथमा एक पछि अर्काे गरी पाइला अगाडी वढाई रहेको छ । SLC एवम् कक्षा ११ र १२ जस्ता केन्द्रिय स्तरका परीक्षामा समेत विद्यार्थीको उत्तीर्ण प्रतिशत सम्मान जनक नै रहेको अवस्था छ ।माध्यमिक तह सञ्चालन गरी रहेको विद्यालहरुले उ.मा.वि. तह सञ्चालन गरी कक्षा ११ र १२ पठन पाठन गर्न पाउने सरकारी नीति रहेको हुँदा यस विद्यालयले पनि उ.मा.वि. तह सञ्चालन गर्नका लागि २०६५ सालबाट फेरी अर्काे साहसिक कदम उठाउने निर्णय गर्यो । त्यसको लागि आवश्यक पर्नै ४,००,०००।– धरौटीको लागि स्थानीय अभिभावक, शिक्षा प्रेमी , बुद्धिजिवी एवम् देश भित्र र वाहिर रहेका सम्पूर्ण शुभचिन्तरहरुको अथक प्रयास एवम् सहयोग सद्भावबाट धरौटी जम्माको लागि आवश्यक पर्ने रकम संलग्न गरी उ.मा.वि. सञ्चालनका लागि आवश्यक पर्ने प्रक्रिया पुरा गरी २०६६ सालबाट कक्षा ११ सञ्चालन भएर हाल शिक्षा र वाणिज्य समूहका कक्षा ११ र १२ सञ्चालन भई रहेको अवस्था छ ।
स्राेत : विद्यालय सुधार याेजना श्री अरूणाेदय माध्यमिक विद्यालय महालक्ष्मी नगरपालिका ५,धनकुटा ।।।।