Breaking

Saturday, March 6, 2021

वि.व्य.स.अध्यक्षकाे भनाइ

     भावी सन्ततिहरुलाई उज्यालो, भविष्य, निर्माण गर्ने पवित्र उद्देश्यका साथ स्थापना गरिएको यस अरूणाेदय माध्यमिक विद्यालय जिल्लाकै पुरानो मध्येको एक र हाल महालक्ष्मी नगरपालिकाकाे एक प्रमुख विद्यालय हो । यसको स्थापना प्रा.वि. विद्यालयको रुपमा वि.स. २००१५ सालमा, निम्न माध्यमिक विद्यालयको रुपमा वि.स. २०३६ सालमा, माध्यमिक विद्यालयको रुपमा वि.स. २०५१ सालमा र साविक उच्च माध्यमिक विद्यालय वि.स. २०६६ सालमा स्थापना भई यस क्षेत्रबाट थुप्रै शैक्षिक अग्रजहरु एवम् समाजसेवी, शिक्षक, राजनीतिज्ञ, राष्ट्रसेवकहरु उत्पादन गरिरहेको छ । जिल्लाकै इतिहास बोकेको र अरूण नदिकाे नजिकै रहेको यस विद्यालयले आफ्ना अवयवहरुमा थुप्रै सुधार गरेतापनि शैक्षिक गुणस्तरमा अपेक्षित सुधार गर्ने जमर्कोमा रहेको छ । विद्यार्थीहरुको समय सापेक्ष चाप रहेको यस विद्यालयमा सापेक्ष उच्चमा.वि. तर्फ लेखा र शिक्षाशास्त्र सङ्कायमा पढाइ हुने गरेको छ । हाम्रा सामु अवसर र चुनौति दुवै रहेको छ । विद्यालयको आर्थिक, भौतिक, शैक्षिक लगायत सम्पूर्ण पक्षमा एकिकृत र सन्तुलित विकास गर्दै उच्च शैक्षिक उपलब्धि प्राप्त गर्न एवम् प्राविधिक एक अब्बल विद्यालयको रुपमा विकास गर्नु अहिलेको अपरिहार्य आवश्यकता बनेको छ । उल्लेखित कुराहरुलाई हृदयङ्गम गरी विद्यालय व्यवस्थापन समिति यसै विद्यालयलाई अभिभावक र आम सरोकारवालाहरुको आशा र भरोसाको शैक्षिक गन्त्व्यको रुपमा विकास गर्न दत्तचित्त रहेको छ ।

    यस अवस्थामा ल्याई पुर्‍याउन अतुलनीय योगदान पुर्‍याउनु हुने महानुभावहरु तथा संघसंस्थाहरु प्रति यस विद्यालय ऋणी छ र यहाँहरुको अमूल्य योगदानप्रति आभार प्रकट गर्न चाहान्छ । सरोकारवालाहरु कै सहभागितामा निर्मित यस योजनामा राखिएका विविध कार्यक्रम सम्बन्धित सरोकारवाला व्यक्तिहरु संघसंस्थाहरु र निकायहरुको सहभागितामा सम्पन्न भई विद्यालयले गुणात्मक फड्को मार्ने कुरामा हामी विश्वस्तछौं । यस योजनाको सफलकार्यान्वयनले विद्यालयको साधारण तथा प्राविधिक धारतर्फको पठनपाठनमा गुणात्मक सुधार भई नमुना विद्यालयको आधार समेत प्रदान हुनेमा कुनै शङ्का छैन । 

       यसै सन्दर्भमा यस विद्यालयले विभिन्न सहयाेग अभियान मार्फत विद्यालयको समग्र अवयवहरुलाई सन्तुलित र समानुपातिक रुपमा विकास गर्ने प्रतिबद्धताको साथै अघि बढेकोले यस अभियानमा सरिक भई आर्थिक, नैतिक, भौतिक सहयोग गरिदिनु हुन आम अभिभावकज्यूहरु, पूर्व विद्यार्थीहरु, शिक्षकहरु स्टाफहरु स्थानीय सरकार एवम् आमसरोकारवालाहरु समक्ष विद्यालय व्यवस्थापन समिति अरूणाेदय मा.वि. हार्दिक स्वागत गर्दछ ।   



किरणबाबु गिरी
वि.व्य.स. अध्यक्ष