प्रिय विद्यार्थीहरु
समय प्रतिकूल छ भनेर
अलिकति पनि नआतिनु ।
तिम्रो कोठामा एउटा टेबल होस
एउटा कुर्सी पनि होस
विहानीमा ,
झ्यालबाट छिरेको घामलाई मनमा राख्नु
तिम्रो संसार उज्यालो हुनेछ
र त्यहि उज्यालोमा बसेर किताबहरुसंग खेल्नु
रातमा ,
धुरीमा लागेको गोलो जुनलाई आखाँमा सजाउनु
र त्यहि शीतलतामा मीठा - मीठा सपना देख्नु
ताकि तिम्रा आगामी पलहरु स्वर्ण होउन् ।
त्यो देउरालीको हरियो फाँटमा
गोठालो गर्न जाँदा पनि
कापीको एक पानामा गान्धीको मुहार खिच्नु
र मुसुक्क मुस्कुराउनु
वोनापार्टहरुको क्रान्तिको इतिहास पढ्नु
र ससक्त वक्तृत्व प्रस्तुति गर्न सिक्नु
बस् जसरी हुन्छ खुशी हुनु ।
हामीले ,
आफ्नै जिन्दगीसंग डराएर
ति ओढारहरुमा दुम्सि लुके जसरी लुक्नु हुँदैन
हामीले त ; ति ओढारहरु फोरेर
बनाउनु छ नयाँ रिङरोडहरु
जहाँबाट यो देशको
चार किल्ला सजिलैसँग पुग्न सँकु
र गर्न सँकु कठोर भन्दा कठोर कर्म
र बनाउन सँकु आफ्नो देशलाई पनि विकसित मुलुक ।
हुन त
आजभोलि बन्द छन् भन्दैमा यातायात
बन्द छन् भन्दैमा शहर र शहरका हल्लाहरु
बन्द छन् भन्दैमा क्षमता विकासका कार्यक्रमहरु
हामीले बन्द गर्नु हुँदैन प्रस्फुटन गर्न
हाम्रा तेजिला प्रतिभाहरु
किनकि हामी भविष्यका कर्णाधार हौँ
सायद त्यहिभएर ;
हामी सधैँ तयारी गरिरहेका हुन्छौं ।
हाल
स्थगित भएपनि घरदेखि स्कुल जाने काम
स्थगित भएपनि परीक्षाहरु
स्थगित भएका छैनन् हाम्रा सम्बन्धहरु
किनकि यो छापामार शैलीको हर्कत
हाम्रो सावधानीबाट हैरानी भएर
मध्यान्हको रापिलो सुर्य साँझमा अस्ताए जस्तै
विस्तारै - विस्तारै ओझेल पर्नेछ
मात्र हामी हेल्चेक्राई नगरौ
ब्यस्त रहौँ , मस्त रहौँ ।।
रचना :- विद्यालय परिवारको एक सदस्य ।।